४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह


0
Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देश र जनताको हितलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले काम गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा सोमबार आयोजित ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले कर्मचारी स्थायी सरकार भएकाले कर्तव्य, जिम्मेवारी निर्वाह गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले विषय वस्तुमाथिको ज्ञान, क्रियाशीलता तथा तत्परताले जटिल कामलाई सम्पन्न गर्न सकिने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विषय विज्ञताको हिसाबले केही अब्बल सचिवमध्ये सचिव सिग्देलको भूमिका मन्त्रालयमा महत्त्वपूर्ण रहेको मन्त्री बस्नेतले स्मरण गर्नुभयो ।

२०७९ फागुनमा जलस्रोत तथा सिँचाइ सचिवका रुपमा कार्यभार सम्हालेका सिग्देल पछिल्लो तीन महिनादेखि ऊर्जा सचिवको भूमिकामा रहनुभएको थियो । सरकारको पछिल्लो निर्णयअनुसार, उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।