
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताउनुभएको छ ।
शनिबार चितवनमा सुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष अग्रवालले हाल नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेको भन्दै ठूला उद्योगहरुमा समेत यसको असर परिरहेको जिकिर गर्नुभयो । उहाँले विकास निर्माणका गतिविधिहरु बढाइनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष अग्रवालले पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पनि आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानी कर्तालाई नयाँ सन्देश दिने महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानून सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्ने बतउनुभयो ।
अध्यक्ष अग्रवालले सरकार राजश्वमुखी हुँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको बताउनुभयो । उहाँले सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भनेपनि व्यवहारमा लागू गर्न नसकेको बताउनुभयो । कृषिमा परनिर्भरता हटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्