२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विपन्न महिलाको ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदैछौं : मन्त्री चौधरी


195
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गर्नुभएको छ ।

वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिनुभएको हो ।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाई थियो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराउनुभयो ।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहनुभएको पनि बताउनुभयो । उहाँले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताउनुभयो ।