१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


कृष्णपुर नगरपालिकाको अभियान : सडक ग्राभेल र कालोपत्रे


130
Shares

कैलाली (बिराज रोस्यारा) । सडक कालोपत्रेका लागि पर्याप्त बजेट नपाउने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पानीपिचलाई अभियानका रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले प्रत्येक वर्ष ९ वटै वडामा ५÷५ किलोमिटर सडक पानीपिच गर्ने भएको हो ।

भौगोलिक हिसाबले ठुलो तर आर्थिक हिसाबले निकै न्यून आम्दानी भएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कम लागतमा बढी उपलब्धी हुने उद्देश्यले सडकको ग्राभेल तथा पानीपिच थालेको छ । सडकको पानीपिच र ग्राभेलसमेत उपभोक्ता समितिबाट गर्ने परम्परालाई तोड्दै नगरपालिकाले आफैंले काम थालेको हो । ग्राभेल र पानी पिचका लागि आवश्यक उपकरण खरिद गरेको नगरपालिकाले वडा नम्बर १, ८ र ९ बाट पिच गर्न शुरु गरेको छ । उपभोक्ता समितिबाट काम गराउँदा एक किलोमिटर पानीपिच गर्न १० लाख रुपैयाँ खर्च हुने देखिएकोमा नगरपालिका आफैले गर्दा १० लाख बजेटमा १० किलोमिटर बराबर ग्राभेल तथा पानी पिच हुने भएको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले बताउनुभयो ।

वार्षिक करीब ८ करोड मात्रै आन्तरिक आम्दानी रहेको कृष्णपुर नगरपालिकाले विगतमा आफ्नो आम्दानीले ग्राभेलसमेत गर्न नसक्ने अवस्था थियो । उपभोक्ता समितिबाट गरिने काममा पारदर्शी नहुने र खर्च पनि बढी हुने भएपछि नगरपालिका आफैं अग्रसर भएको हो । वार्षिक ५० लाख बजेटमा ४५ किलोमिटर सडक पानीपिच गर्ने नगरपालिकाको योजना रहेको कृष्णपुर नगरपालिका ८ का अध्यक्ष दिनेश खड्काले बताउनुभयो ।

गाउँ गाउँमा पानीपिच शुरु भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ । खाल्टाखुल्टी र हिलाम्य सडकमा यात्रा गर्न बाध्य नागरिकलाई पानीपिचले सहज बनाएको छ । नगरपालिकाले आफैले ग्राभेल र पिच गर्दा सडकमा आउने समस्याको समाधान छिटो हुने कृष्णपुर नगरपालिका ८ का बासिन्दाको भनाइ छ ।

कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पिचका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । निशुल्क स्वास्थ्य सेवादेखि, आमा सुरक्षा कार्यक्रम पनि नगरपालिकाले सञ्चालन गरेको छ । त्यसैगरी विद्यालयहरु समायोजन गरी शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासमा पनि नगरपालिका रहेको छ ।