१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


तराईमा हराउँदै जोगिरा सररर…..


273
Shares

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेशका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा समाजका जेष्ठ नागरिकहरु चिन्तित छन् ।

होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, भ्याली, हारमुनियम जस्ता बाजाको प्रयोग गरि जोगिरा गीत गराउने प्रचलन छ । जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो । तर ती गीतहरु हिजोआज लोप हुने अवस्थामा पुगेको भन्दै संस्कृतिविद् तथा नागरिक समाज सर्लाहीका अगुुवा रजनी कान्त झाले चिन्ता व्यक्त गर्नुभयो ।

साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण होली पर्वले प्रायः सबै जातजातिका र उमेर समूहका मानिसलाई एक आपसमा अबिर दलेर सद्भाव र आत्मियता बढाउँछ । जोगिरा गीत मात्रै होइन तराईमा उत्सव र उमङ्गका साथमा खेलिने होलीको महत्व पनि वर्षेनी घट्दै गएको छ । तराईका भित्री गाउँबाट समेत गरिबीका कारण अधिकांश युवाहरु विदेशिएका छन् । त्यसैले पनि गाउँघरमा होलीको रौनक देखिँदैन् भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएकोले यसको महत्व घट्न थालेको शिक्षक तथा ंसंस्कृतिका जानकार राम मिलन रायको भनाइ छ ।

पुराना जोगिरा गवैयाहरुको मृत्यु भइसकेको र कतिपय बुढयौलीका कारण थला परेपछि जोगिराको संरक्षणमा चूनौति थपिएको छ । यसको संरक्षणका लागि सामाजिक अभियन्ता र जनप्रतिनिधिहरुले पनि विशेष जोड दिनुपर्ने बुढापाकाहरुको तर्क छ ।