
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो विषयलाई संसदको काम, कारबाही नै प्रभावित हुनेगरी उठाइएको बताउनुभयो । उहाँले हालसम्मको अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भुमिकामा नरहेको बताउनुभयो ।
अदालतमा विचाराधिन मुद्दामा पनि उहाँको नाम कतै नजोडिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । पूरक जाहेरी दिँदापनि गृहमन्त्री लामिछाने संलग्न भएको कुनै आधार र प्रमाण पेश नगरिएकोले प्रहरीले जाहेरी दर्ता गर्नु आवश्यक नठानेकाले जाहेरी दर्ता नगरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने आफ्नो प्रतिवद्धतामा कुनै सम्झौता नहुने बताउनुभयो । अनुसन्धानमा कैफियत भएमा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले ठाडो उजुरी हुनासाथ राजीनामा गर्ने परिपाटी बसालेमा कस्तो अवस्था आउला भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दललाई यस विषयमा राजनीतिकरण नगर्न आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्