२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्वअर्थमन्त्री डा.खतिवडा


2.184k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरुको काम नभएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गर्नुभयो ।

डा. खतिवडाले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बहुउद्देश्य सहकारीका नामम नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अस्तित्व २०२५ मा नै सकिने बताउनु भयो ।

डा. खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताउनु भयो । उहाँले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

डा. खतिवडाले सहकारीलाई उत्पादन, वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस, क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताउनु भयो ।

सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भइ क्रमशः समस्या समाधान हुने खतिवडाले बताउनु भयो । उहाँले सहकारी वित्तीय कारोबार मात्रै नभइ सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउनु भयो । उहाँले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

डा. खतिवडाले भन्नुभयो,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ । साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ । सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ । यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन् । नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ । २०३० सम्म सहकारीहरु प्रविधिमैत्री हुन्छन् । आफ्नो संस्था र कारोबारको बारेमा स्मार्ट फोनबाट हेर्नु सक्नुहुने छ । आफू सदस्य भएको सहकारीको एप्स मोबाइलमा हुन्छ । एप्स मार्फत सुचना पाइराख्नु हुने छ । शंका लागेमा कारोबार गर्नको लागि सदस्यहरुबीचमा समन्वय भएको हुन्छ । हल्ला भन्दा पनि सदस्यहरुबीचको सल्लाहले सहकारी ठिक छ वा छैन भन्ने मूल्याङकन गर्नु सक्नुहुनेछ । डिजिटल प्रविधिले बचत फिर्ता गर्न सहकारीमा लाइन लाग्ने अवस्थाको अन्त्य पनि गर्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गर्नुभयो ।