९ असार २०८२, सोमबार | Mon Jun 23 2025


जलवायु परिवर्तनले महिला, बालबालिका बढी मारमा : प्रधानमन्त्री दाहाल


234
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता देखिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले देशको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नविन खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु अहिलेको चुनौति रहेको बताउनु भयो । उहाँले नेपाल जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको पनि बताउनु भयो ।

‘जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ । यसले स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ । जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन् । एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका छन् ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको पनि बताउनु भयो । पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार हुने र भयावह बन्दै गएको बताउनुभयो । पछिल्ला प्रतिवेदनअनुसार जलवायु परिवर्तनको असरका कारण प्राकृतिक हिमश्रृंखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको बताउनुभयो ।