२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


विश्व मिर्गौला दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै


286
Shares

काठमाडौं । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि यो दिवस मनाउँदैछन् । यस अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु पनि हुँदैछन् ।

विभिन्न स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले आज बिहान रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा सुरु गरेका छन् । प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौलामा समस्या देखिने गरेको छ ।

विश्वभरि नै मिर्गौला रोगको समस्या बढ्दै गएको छ । तसर्थ यो रोगको पहिचान तथा उपचार र रोकथामका उपायबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको हो ।

शरीरमा भएका फोहोरलाई मिर्गौलाले शुद्ध पार्ने र शरीरमा पानीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्दछ । मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई पनि सन्तुलनमा राख्ने तथा भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न नसक्ने चिकित्सक बताउँछन् ।