५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन


0
Shares

काठमाडौं, असार ५ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ संशोधन गरी समसामयिक बनाएको जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासनको खरिद का लागि दरखास्त दिनसकिने अधिकतम् सीमा विवरणपत्रमा उल्लेख भएबमोजिम हुने भएको छ ।

यस्तै, प्रिमियम मूल्यसहित जारी गरिएको सेयर भएमा वा विवरणपत्रमा सर्वसाधारणलाई निष्कासन गरिएको समयावधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा संगठित संस्था वा प्रचलित कानुनबमोजिम स्थापना भएका संस्थाले त्यस्तो सेयर खरिद गर्नसक्ने व्यवस्था बोर्डले गरेको छ ।

धितोपत्र बजारलाई समावेशी बनाउन तथा बढीभन्दा बढी लगानीकर्ताले धितोपत्र प्राप्त गर्नसक्ने व्यवस्थाका लागि बोर्डले धितोपत्रको सार्वजनिक निष्कासनमा सकेसम्म सबै आवेदकलाई १० कित्ताका दरले धितोपत्र बाँडफाँट गर्नुपर्ने व्यवस्था गरेको थियो ।

यस व्यवस्था प्रारम्भ भएपश्चात् गरिएका धितोपत्रको सार्वजनिक निष्कासनलाई हेर्दा सबै आवेदकलाई १० कित्ताका दरले धितोपत्र बाँडफाँट गर्नुपर्ने व्यवस्थाको कारण अधिकांश लगानीकर्ताले दरखास्त दिन पाइने न्यूनतम् कित्तालाई दृष्टिगत गरी दरखास्त दिने गरेका थिए ।

निर्देशिकामा धितोपत्रका लागि आवेदन गर्नसक्ने अधिकतम् सीमा शून्य दशमलव पाँच प्रतिशत हुनुपर्ने व्यवस्था व्यावहारिक नभएको भन्ने गुनासो प्राप्त भएकाले संशोधन गरिएको बोर्डले जनाएको छ ।