
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज शनिवारदेखि शुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित क्रिकेट मैदानमा आजदेखि खेल शुरु भएको हो ।
नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाश्मी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंकका डेपुटी सीईओ उज्वलराज भण्डारीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दै राजदूत हाश्मीले नेपाल र पाकिस्तान दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप विगत नौ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
त्यसैगरी क्यानका पूर्वअध्यक्ष पाण्डेले शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन् । पाकस्तिानी दुतावासले सन २०१४ देखि प्रत्येक वर्ष यो क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको समापन यही मार्च १० मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्