
हरि शर्मा (इमेज)
कावासोती (नवलपरासी), भदौ २८ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको आर्थिक पारदर्शीताको विवाद मिलाउन सात सदस्यीय समिति गठन गरिएको छ ।
मेयर पौडेल र उपमेयर कँडेलबीच नगरपालिकाबाट सम्पन्न भएका योजना र खर्च सार्वजनिकको विषयमा विवाद हुँदै आएको छ ।
जनप्रतिनिधिहरुले पटक–पटक योजनामा भएका खर्च सार्वजनिक गर्न मागगर्दासमेत मेयर पौडेलले जानकारी नदिएको जनाउँदै उपमेयर कँडेलले मंगलबार मेयर र प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेकी थिइन् ।
तालाबन्दीपछि उत्सर्गमा पुगेको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बैठक बसेर कोष तथा लेखा नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
के हो विवाद ?
नगरपालिकामा १८ ओटा वडा छन् । वि.सं. २०७५ जेठसम्म हुने कार्यक्रम नगरसभाले पास गरेअनुरुप सम्पन्न भएका थिए ।
तर, असार १ देखि हुने कार्यक्रमलाई कार्यपालिकाले संशोधन गरी बाँडफाँट गर्ने निर्णय गरिएको थियो । कार्यपालिकाले ‘१–१८ कार्यक्रम’ शीर्षक राखेर कार्यक्रममा बजेट छुट्टाउने निर्णय भएको थियो ।
तर, कार्यपालिकाको बैठकबाट अनुमोदन नगराइ सोही शीर्षकको रकमबाट मेयर पौडेलले रकम बाँडेको उपमेयर कँडेलको आरोप छ ।
गठन भएको समितिले केही दिनमा कार्यक्रम र खर्चबारे प्रतिवेदन पेस गर्ने छ । समिति गठनपछि बिहीबारबाट नगरपालिकामा लगाइएको ताला खुलेको छ ।
मेयर पौडेलले भने कार्यपालिका र नगरसभाले अनुमोदन गरेको कार्यक्रममा रकम खर्च गरेको बताएका छन् । उनले व्यक्तिपिच्छे कार्यक्रमका बिल देखाउन जरुरी नभएको बताए ।
नगरपालिकामा मेयरसहित १० जना नेकपाका छन् । उपमेयरसहित १८ जना नेपाली कांग्रेसका जनप्रतिनिधि छन् ।
बहुमत र अल्पमतका कारण विभिन्न समयमा योजना र खर्चबारे नगरपालिकामा विवाद हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्