
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले दिगो विकासका लक्ष्य हासिल हुनेगरी अबका विनियोजन बजेट र कार्यक्रम आउन जरुरी रहेको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक् वर्ष २०८१/०८२ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पन्थले यस्तो बताउनुभएको हो ।
सांसद पन्थले विनियोजनको सिद्धान्त र प्राथमिकता व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको महशुस हुनेगरी, सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तन हुने गरेर र संविधान र मौलिक हक कार्यान्वयन हुनसक्नेतर्फ सरकारको प्राथमिकता केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न गराउने गरी, बलियो र सक्षम बनाउने गरी संघीयता सबलीकरणमा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।
सांसद पन्थले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रदान हुन आवश्यक रहेको बताउनुभयो । सुशासन बिना विकास सम्भव नरहेको र प्रधानमन्त्री कार्यालयदेखि वडा तहसम्म भ्रष्टाचारबिरुद्ध कडा र निर्मम कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सांसद पन्थले समृद्धिको लागि सामाजिक न्याय अपरिहार्य भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्