४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


कलाकारहरु भन्छन् – ‘संगीत विश्वविद्यालयको देहावसान भयो’


780
Shares

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो

श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी कलाकार नीर शाहले स्व. आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा मक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गर्नुभयो । उहाँले संगीतको विकासका लागि सचेत मानिसको श्रेणी भन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको बताउनुभयो ।

कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडेपनि उहाँका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताउनुभयो । संगीत विश्वविद्यालयको देहावसान भएको बताउनुभयो ।

आचार्यको सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिनुभएको हो । नेपाली सुगम सङ्गीतमा उहाँको विशिष्ट स्थान छ ।