
काठमाडौं । पछिल्लो दुई साताभित्र राजधानीमा दुई वटा घटनामा दुई वटा परिवारका छ जनाको ज्यान गयो । गत माघमा ललितपुरको इमाडोलमा र गत साता काठमाडौंको सीतापाइलामा पारिवारिक झगडामा निर्दोष बालबालिकासहित ६ जनाको ज्यान गएको हो । घरायसी बेमेल र झगडाले परिवारै सखाप पारेर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ ।
गत साता काठमाडौंको नागार्जुन नगरपालिकाका वडा नम्बर ६ को भैरवटोलमा बस्दै आएका सोलुखुम्बुका काजी विश्वकर्माले श्रीमतीसँगको झगडाका कारण श्रीमतीको मात्रै ज्यान लिएनन, निर्दोष छोरी र नातिनीको समेत हत्या गरेर आत्महत्या गरे । विहानको समयमा श्रीमती ईश्वरी, छोरी अनिषा र झड्केलो छोरापट्टिकी नातिनी शिवानीको हत्या गरेर काजी विश्वकर्मा केही परको जंगलमा पुगेर झुण्डिएका थिए । श्रीमती ईश्वरीसँगको झगडाका कारण यस्तो निर्मम घटना भएको प्रहरीको विश्लेषण छ । श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंकाले नै यो घटना गराएको हुनसक्ने अनुमान गरिएको छ । ईश्वरीले आफूलाई बलात्कार गरेको भनी उजुरी दिएका पुरुष धरौटीमा छुटेपछि काजी र ईश्वरीबीच शंका उपशंका र झगडा बढेको अनुमान गरिएको छ ।
यस्तै गत माघ २७ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, ओचु हाइटमा एक महिलाले छोराछोरीको हत्या गरेपछि आत्महत्या गरिन् । स्थानीय ३६ वर्षकी रविना महर्जनले ६ वर्षको छोरा अश्वेत र २ वर्षकी छोरी रिबाको हत्यापछि तीन तले घरबाट हामफालेर आत्महत्या गरेकी थिइन् । छोराछोरीको मुख थुनेर हत्या गरेपछि उनले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।
तीन महिनाअघि धनकुटामा पनि यस्तै प्रकृतिको घटना भएको थियो । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङले श्रीमती ३६ वर्षकी भीमा र छोरा १० वर्षका आयुषको हत्यापछि झुण्डिएर आत्महत्या गरेका थिए । ६ वर्षकी छोरी आसिकी भने बाँच्न सफल भएकी थिइन् । सो घटनाको कारण पनि पारिवारिक बेमेल र झगडा भएको प्रहरीको निष्कर्ष छ ।
गत साउनमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, पदमसालमा पनि गोरखाका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत अवस्थामा भेटिएको थियो । घटनास्थलमा फेला परेको सुसाइट नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका थिए । १२ वर्ष कुवेतमा बसेर फर्केका दिनेशको श्रीमती सुनितासँगको बेमेलका कारण विभत्स घटना भएको अनुसन्धानबाट थाहा लागेको थियो ।
पछिल्लो चरणमा बढेका यस्ता घटनाहरुमा विवाहोत्तर सम्बन्ध र त्यसले लोग्ने स्वास्नीबीच बढाउने घृणा प्रमुख कारण देखिएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राठौरले बताउनु भयो ।
पति–पत्नीबीच अविश्वास, शंका उपशंका, अनादर र घृणाले कतिसम्म क्रुर घटना हुनसक्छ भन्ने पनि यी घटनाहरुले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३३ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । सोही अवधिमा तीन हजारभन्दा बढीको हत्या भएको छ । कतिपयले परिवार तथा नातागोताको हत्यापछि आत्महत्या गरेको देखिन्छ । आर्थिक अभाव, बेरोजगारी, गरिबी, निराशा, चिन्ता, पारिवारिक बेमेल तथा कलह, परपुरुष÷महिलासँगका सम्बन्धले निर्मम र क्रुर घटना हुने गरेको प्रहरीको अध्ययनको निष्कर्ष छ ।
मनोविद् डाक्टर नागेन्द्र ठगुन्नाका अनुसार ३५ वर्षको उमेर पुगेपछि मानिसमा आर्थिक, सामाजिक, पारिवारिक जस्ता दबावहरु बढ्न जान्छन् । घरायसी समस्याको व्यवस्थापन गर्न नसक्दा अकल्पनीय घटनाहरु हुने मनोविद् ठगुन्ना बताउनु हुन्छ । हत्या वा आत्महत्या गर्ने चरणसम्म पुग्दा मानिसको मानसिक स्वास्थ्य समेत कमजोर भइसकेको हुने उहाँको भनाइ छ । यस्ता घटनाहरुको न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सम्बन्धि साक्षरतालाई प्रवर्धन गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
परिवारकै हत्या गरेर आत्महत्या गर्ने जस्ता क्रुर घटनाहरुले प्रत्यक्ष पीडित पक्षलाई त नराम्रो झड्का दिन्छ नै, यस्ता घटनाले सिंगो समाजमा पनि नकारात्मक असर गर्ने गर्दछ । त्यसैले यस्ता घटनाहरुको न्युनीकरणका लागि घर परिवार, समाज र राज्यले संयुक्त प्रयास गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्