४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाझिँयो कांग्रेस


715
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् ।

महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका हुन् । महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बिरोधीहरु एकै ठाउँमा उभिएमा कांग्रेसले विरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालिन अवस्थामा भर पर्ने बताउनुभयो । उहाँले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गर्नुभएको बताउनुभयो । उहाँले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताउनुभयो । उहाँले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताउनुभयो । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समुहमा विभाजन गरि महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताउनुभयो । उहाँले जनतालाई आशाको सन्देश दिनुपर्ने बताउनु भयो । उहाँले सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले महासमितिको बैठक आफैँमा गर्वको विषय भएको भन्दै महासमितिले कांग्रेस र जनतामा उत्साह जगाउन सक्नुपर्ने बताउनुभयो ।