२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


संघबाटै स्थानीय तहको बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठ्यो : अध्यक्ष पौडेल


221
Shares

काठमाडौं । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघबाटै प्रदेश र स्थानीय सरकारमा बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

अध्यक्ष पौडेलले अहिले भइरहेको सशर्त अनुदानका कारण संघीयता संकटमा पर्ने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहले प्राथमिकीकरण गर्नुपर्ने योजना र छुट्याउनुपर्ने बजेट सिंहदरबारबाटै तोकिँदा संघीयता अफ्ठ्यारोमा परेको बताउनुभयो । उहाँले सिंहदरबारबाटै प्रदेश र स्थानीय सरकारका योजना तोक्ने हो भने प्रदेश र स्थानीय तह किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष पौडेलले अहिले भइरहेको सशर्त अनुदानको बाँडफाँडले प्रदेश र स्थानीय तहको बजेट बनाउने ठाउँ नै खाइदिएको बताउनुभयो । यसबारेमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतले संघ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप प्रस्टता हुनुपर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरुको मानक स्थापित गर्न संसदीय समितिबाट निर्देशन आवश्यक रहेको बताउनुभयो ।

आयोगका सचिव राउतले साझा अधिकारको सूचिमा रहेको धेरै कानूनहरु अहिले पनि बाझिने अवस्थामा रहेको बताउनुभयो । संघ सरकारले कानून निर्माण गर्न नसक्दा स्थानीय सरकार कार्यान्वयन हुन कठिनाइ भइरहेको बताउनुभयो । साझा अधिकारका सूचिको कानून निर्माणमा संघ सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

समितिको बैठकमा सांसदहरुले संघ सरकार र स्थानीय सरकारको अधिकार स्पष्ट हुनुपर्ने धारणा राखे । संघ र स्थानीय तहको अधिकार स्पष्ट हुन नसकेसम्म संघीयतामाथि प्रश्न उठिरहने बताए ।