
प्रज्ञा तिमल्सिना/गृष्मा राजभण्डारी/उत्तम मानन्धर/नवीन स्थापित (इमेज)
काठमाडौं, असार ५ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा यस संसारमा रहेनन् । सोमबार साँझ भौतिक देहत्याग गरेका देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका डा. देवकोटाको मृत्युमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म भावविह्वल बने ।
डा. देवकोटाको अन्तिम श्रद्धाञ्जलिस्थल काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पताल पुग्ने कसैको मन ओभानो रहेन । यहाँ पुग्ने सबैजसो भक्कानिएका थिए । सबैका नयन अश्रुपूर्ण बनेका थिए ।
एउटा असल मानिसलाई असमयमै गुमाउनपर्दा मुलुक नै रुँदो रहेछ भन्ने दृष्टान्त पनि हो यो ।
उपराष्ट्रपति, मन्त्री, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, उच्चपदस्थ कर्मचारी, पूर्वमन्त्रीदेखि बुद्धिजीवी, समाजसेवी, समकक्षी चिकित्सक, पत्रकारलेमात्र भरिएको थिएन, अस्पतालको प्रांगण । सबैभन्दा बढी व्यथित देखिन्थे देवकोटाको उपचारबाट नयाँ जीवन पाएकाहरु ।
देवकोटा राष्ट्रकामात्रै नभइ अन्तर्राष्ट्रिय जगतमै ख्यातीप्राप्त चिकित्सक भएकाले पनि उनले चिकित्सा क्षेत्रमा लगाएको गुण अवर्णनीय छ ।
श्रद्धाञ्जलि दिन पुगेका वरिष्ठ पत्रकार कनकमणि दीक्षित देवकोटाकै कारण आफूले पुनर्जीवन पाएको भन्दै राष्ट्रले एउटा ‘हीरा’ गुमाएको प्रतिक्रिया दिन्छन् ।
उनको हातबाट आफैं वा परिवारका सदस्यको उपचार गराएकाहरु झन् मर्माहत बनेका छन् ।
मंसिर ५ गते पित्तथैलीको नसामा लागेको क्यान्सरको बेलायतमा उपचार गराएपनि निको नभएपछि डा. देवकोटा आफ्नै माटोमा देहत्याग गर्न भन्दै फर्किएका थिए ।
रोगले थलिएर गम्भीर बनेका बेला पनि आफू जन्मेको माटोमा पुग्ने अभिलाषा राखेपछि देवकोटालाई गृहजिल्ला गोरखाको आँपपिपल पुर्याएर ल्याइएको थियो ।
वि.सं. २०१० साल पुस ४ गते गोरखाको पण्डित गाउँमा जन्मिएका उनले अमरज्योति जनता हाइस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरी अमृत साइन्सबाट कलेज जीवन थालेका थिए ।
वि.सं. २०३० मा भारत, आसामको मेडिकल कलेजबाट एमबीबीएस गरेका उनले वीर अस्पतालमा कार्यरत् रहँदा २०३८ सालमा वीर अस्पतालमै न्यूरो सर्जरी वार्ड स्थापना गरेका थिए ।
बेलायतबाट न्यूरो सर्जरीमा उच्च शिक्षा सकाएर वि.सं. २०४७ सालमा नेपाल फर्किएपछि डा. देवकोटाले फेरि वीर अस्पतालमै लामो समय बिरामीको सेवा गरेका थिए ।
उनी २०५९ साल असोजमा राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।
बाँसबारीस्थित न्यूरो अस्पताल भने डा. देवकोटाले वि.सं. २०६२ सालमा स्थापना गरेका हुन् ।
३७ वर्षको चिकित्सा यात्रामा डा. देवकोटाले ३४ हजार व्यक्तिको शल्यक्रिया गर्नुका साथै ७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्