Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


सडक व्यापारलाई तीन वटै तहको सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : पदम गिरी


156
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ ।

प्रमुख सचेतक गिरीले सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद रमा कोईराला (पौड्याल)ले गरिखानेहरुलाई उठिबास लगाउने ढंगले काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापित गर्ने काम गरेको भन्दै मेयर बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले महानगरको सौन्दर्य नबिग्रने गरी सडक व्यापार गर्न दिनेगरी तत्काल निर्णय लिन पनि काठमाडौं महानगरपालिकासँग आग्रह गर्नुभयो ।

सांसद कोईरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीहरुको व्यवस्थापन गर्न उचित हुने धारणा समेत राख्नुभयो ।