२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


अमेरिकाको टेक्सास, फ्लोरिडाबासीलाई पनि सगुनमा लगानी गर्ने अवसर


0
Shares

काठमाडौं । नेपालीले स्थापना गरेको सामाजिक इकमर्स साइट सगुनले जारी गरेको मिनी आइपिओमा अमेरिकाका टेक्सास, फ्लोरिडा, एरिजोना र नर्थ डकोटा राज्यबाट समेत लगानी गर्न पाइने भएको छ ।

यसअघि ती राज्यको कानुन अनुसार लगानी गर्न पाउने ब्यवस्था थिएन । सगुनले यसअघि विश्वभरबाट मिनी आइपिओ मार्फत लगानी संकलन गरेको थियो ।

सगुनले लामो प्रयासपछि उल्लेखित राज्यहरुबाट सगुनमा लगानी गर्न पाउने अवसर उपलब्ध गराउन सफल भएको बताएको छ ।

ती राज्यहरुबाट कम्पनीमा सिधै लगानी भने गर्न पाइँदैन । त्यहाँबाट ब्रोकर कम्पनीमार्फत लगानी गर्नु पर्छ । सगुनले स्टार्ट इञ्जिन नामक ‘फन्ड राइजिङ पाटनर’ मार्फत सगुनमा लगानी गर्न पाउने अवसर दिएको हो ।

यस प्रावधान अनुसार इच्छुक लगानीकर्ताहरुले स्टार्ट इञ्जिनको startengine.com/sagoon साइटमा गएर लगानी गर्न सक्ने छन् ।

लगानी गर्न चाहनेहरूले साइटमा आफ्नो युजर एकाउन्ट बनाउनु पर्छ । त्यसपछि सोहि एकाउन्टमार्फत लगानीको पेजमा प्रवेश गर्दा Invest now  बटन देखिने छ ।

उक्त बटनमा क्लिक गरेपछि नाम, ठेगाना, जन्म मिति र फोन नम्बर जस्ता विवरण भरेर लगानी गर्न सकिने छ । लगानी गर्ने रकम डेविट वा क्रेडिट कार्ड तथा एसिएचमार्फत पठाउन सकिने छ ।

यस अनुसार फर्म भर्न कम्तिमा अमेरिकी डलर १०१२ (४४ शेयर, प्रति शेयर २३ अमेरिकी डलर) लगानी गर्नु पर्नेछ ।

स्टार्ट इञ्जिनको प्रावधानअनुसार अमेरिकाका अन्य राज्यहरुबाट समेत लगानी गर्न पाइने सगुनको दावी छ । अमेरिकाबाहेक अन्य मुलुकबाट भने अब लगानी गर्न पाइने छैन । सगुनले यसअघि लगानी गर्न छुटेका अमेरिकाका बासिन्दालाइ मिनी आइपीओमा लगानी गर्ने अवसरको सदुपयोग गर्न अग्रह गरेको छ ।