
कैलाली (बिराज रोस्यारा) । कैलाली र कञ्चनपुरको सिमानामा पर्ने मोहना नदीमा मनोमानी ढंगले नदीजन्य पदार्थको उत्खनन तथा संकलन हुने गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारहरुले मनपरी रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्ने गरेका हुन् । पुलको ५ सय मिटर वरपरको क्षेत्रमा बालुवा निकाल्न नपाइने मापदण्ड भए पनि बालुवा निकाल्ने ठेक्का पाएको सगरमाथा कन्स्ट्रक्सनले मापदण्ड मिचेर वालुवा निकालिरहेको हो ।
मोहना नदीबाट नदीजन्य पदार्थ संकलन गर्ने ठेक्का पाएको सगरमाथा कन्स्ट्रक्सन कम्पनीले तटबन्धन गरेको क्षेत्रमा समेत इस्काभेटर लगाउने र पुलको ५ सय मिटरभित्रै डोजर लगेर बालुवा निकाल्ने गरेको छ । राजघाटमा निर्मित मोहनामाथीको पुल वरिपरिबाट बालुवा उत्खनन् हुनुका साथै जनताको तटबन्धन कार्यक्रमबाट लगाइएको तटबन्ध समेत भत्काएर पुल छेउमै टिप्परका लागि बाटो बनाइएको छ । यसले मोहना नदीको कटान बढ्ने र भविष्यमा नदी बस्तीमै पस्ने चिन्ता बढेको कृष्णपुर– ९ कञ्चनपुरका स्थानीय बताउँछन् ।
पुल निर्माणपछि त्यसको करिब ५ सय मिटर छेउछाउमा तटबन्धन गरिएको थियो । वारी र पारी दुवै क्षेत्रमा गरिएको तटबन्धनले बस्ती र जंगल जोगिने अपेक्षा लिएका स्थानीयलाई सो क्षेत्रबाट बालुवा निकाल्न शुरु भएपछि चिन्ता बढेको छ । राज्यको लाखौँ खर्च गरेर बनाइएको तटबन्ध नै भत्किने गरी बालुवा निकाल्दा प्राकृतिक स्रोतको दोहोन मात्रै होइन स्थानीयको उठिबास समेत हुने धनगढी उपमहानगरपालिका– ३ कैलालीका स्थानीय रणबहादुर खड्काको चिन्ता छ ।
तटबन्ध समेत भत्काएर बालुवा निकाल्दा वन क्षेत्र समेत डुबानमा पर्ने र त्यसले जंगल क्षेत्र समेत नासिने जोखिम बढेको भन्दै मापदण्ड विपरितको उत्खनन् तत्काल रोकिनुपर्ने शान्ति सामुदायिक वन उपभोक्ता समुह कैलालीका अध्यक्ष निता शाहीको माग छ ।
स्थानीय प्रशासन र ठेक्का लगाउने कृष्णपुर नगरपालिकाले भने अवैध उत्खननप्रति चासो दिएका छैनन् । स्थानीयले बारम्बार गुनासो गर्दा पनि प्रशासन र नगरपालिकाले बेवास्ता गर्नुमा मिलेमतोको आशंका समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्