Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


मोरङमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना ल्याइयो


468
Shares

काठमाडौं । मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना जावलाखेल ल्याइएको छ ।

गत बुधबार मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो ।

शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी-१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर जावलाखेल सदर चिडियाखाना ल्याइएको जानकारी दिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धु ढुङ्गानाले उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएकाले उपचार गरेर बासस्थानमा पठाउने बताउनुभयो । उहाँले सदर चिडियाखानामा हिउँ चितुवा उद्धारको लागि राखिएको बताउनुभयो ।

महानिर्देशक ढुङ्गानाले उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनु अस्वभाविक भएको बताउनुभयो । उहाँले पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले नेपालमा भेटिने समस्याग्रस्त वन्यजन्तुको उद्धार र संरक्ष्णमा राष्ट्रिय प्रकृति संरक्षण कोष जोडिँदै आएको बताउनुभयो । उहाँले आफूहरुले मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा बचाउनु पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले उर्लाबारीमा भेटिएको चितुवालाई सानैदेखि मानिसहरुले संरक्षण गरेर राखेको हुनसक्ने बताउनुभयो ।

अधिकारीले सानैदेखि घरमा पालेर राखिएको चितुवाले शिकार गर्न नसक्ने बताउनुभयो । उहाँले चितुवाको पछाडिको देब्रे खुट्टामा चोट रहेकाले हिँड्न नसक्ने बताउनु भयो । उहाँले उपचार भएर हिउँ चितुवा स्वस्थ्य भएमात्रै बासस्थानमा पठाउन सक्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले हिमालमा बस्ने हिउँ चितुवा गर्मी स्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो इन्डिकेटर भएको बताउनुभयो । उहाँले हिउँ चितुवा तराईमा भेटिनुले जलवायु परिवर्तनमा आएको असरलाई संकेत गर्ने बताउनुभयो ।

उहाँले बासस्थानको हिसाबमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बन्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा हिउँ चितुवाका सम्भावित बासस्थन भएपनि सबैभन्दा कम उचाईमा हिउँ चितुवा भेटिनु अध्ययनको विषय बनेको बताउनुभयो । उहाँले मन्त्रालयले विज्ञ सहितको अध्ययन कार्यदल बनाएर अध्ययन गर्ने बताउनुभयो ।

हिउँ चितुवा विज्ञ प्रा.डा.करणबहादुर साहले हिउँ चितुवा असामान्य किसिमबाट उर्लाबारी पुगेको हुनसक्ने बताउनुभयो । उहाँले उर्लाबारीमा प्राकृतिक रुपमा हिउँ चितुवा आउँदा ताप्लेजुङ कञ्चनजंगा,सोलुखुम्बु,मकालु वा संखुवासभादेखि आउनुपर्ने बताउनुभयो ।

पूर्व कञ्चनजंगादेखि पश्चिम अपिनप्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आसपासका स्थान हिउँ चितुवाका सम्भावित बासस्थन हुन् । नेपालमा २०१ देखि ४ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ ।