१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


गाउँमा पहिलो पटक बस पुग्दा उत्सव


6.981k
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट मझु्वा, गैरीगाउँ, गौखर्कमा पहिलो पटक बस पुग्दा उत्सव मनाइएको छ ।

महाभारत पहाडको ग्रामीण बस्ती सुनकोशी गाउँपालिकाको वडा नं ७ मझुवा, गैरीगाउँ र वडा नं ६ गौखर्कमा सिन्धुलीमाडीबाट सुनौलो बिपी यातायातको बस सेवा सञ्चालन भएसँगै बस, बसका चालक सहचालक र यात्रुहरुलाई स्थानीयले पञ्चेबाजासहित फुलमाला, अबीरले स्वागत गरेका हुन् ।

यस क्षेत्रमा ग्रामीण सडक निर्माण भएको लामो समय बितिसक्दा पनि सदरमुकाम सिन्धुलीमाडीबाट सार्वजनिक यातायातका साधनहरु नचल्दा यहाँका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य थिए ।

तर पछिल्लो समय सुनकोशी गाउपालिका वडा नं ७ का वडाध्यक्ष लोकबहादुर कार्की र स्थानीय समाजसेवी नारायण कार्कीको पहलमा सदरमुकामबाट सुनौलो बिपी यातायातको बस सेवा सिन्धुलीबाट चपौली हुँदै मझुवा गौखर्कसम्म संचालन गरिएपछि स्थानीयले सदरमुकामसम्मको यात्रा सहज रुपमा गर्न पाउने भएका हुन् ।

सिन्धुलीमाडीबाट जलकन्या चपौली, मझुवा, गैरीगाउँ, गौखर्क, सैनटार, आरुवोटे, सैनटार हुँदै सो बस सेवा अमारेसम्म सञ्चालन हुने सुनौलो बिपी यातायताका अध्यक्ष कान्छामान तामाङले बताउनु भयो ।