१० चैत्र २०८१, आइतबार | Mon Mar 24 2025


रुसी सेनामा गएका नेपाली युवाले गाए गोरखाली वीरगाथा


1.807k
Shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको प्रत्यक्ष पीडा भोग्ने देशमा नेपाल पनि परेको छ । रुसी सेनामा भर्ति भएर गोरखाली वीरगाथा र नेपाली लोकगीत गाउँदै बन्दुक बोकेर सामाजिक सञ्जालमा आउने युवाहरु एकपछि अर्को गर्दै विदेशी भूमिमा ढल्ने क्रम झन् बढेको छ ।

विश्व जित्दै हिंडेको अंग्रेज फौजलाई पटक पटक पराजित गरेर देशको सार्वभौमिकता जोगाएको गोरखाली बीरगाथा आज फगत परिवार पाल्ने बाध्यतामा परिणत भएको छ । रुसी सेनामा अवैध रुपमा भर्ति भएर कति बेला ज्यान जाने हो भन्ने टुंगो नहुने अवस्थाबाट गुज्रिरहेका यी नेपाली युवाहरुले गाएको गोरखाली बीरगाथा फगत परिवार पाल्ने बाध्यताको उपज हो ।

पुर्खाले देश रक्षाका लागि गाएको बीरगाथा आज ज्यान पाल्ने बाध्यतामा परिणत भएको छ भन्ने कुरा रुसी सेनाबाट लडिरहेका युवाहरुलाई पनि राम्रैसँग थाहा छ । कतिबेला कहाँ मरिन्छ भन्ने जान्दा जान्दै पनि देशको बेथिति, बेरोजगारी र नेताहरुको निकम्मापनका कारण आफूहरु विदेशी भूमिमा भाडाको सिपाही बन्नुपरेको उनीहरु नै बताईरहेका छन् ।

युवाले भने झैं रुसी सेनामा भर्ति भएर आफूसँग कुनै दुश्मनी नै नभएको युक्रेनी सेनासँग लड्ने रहर यी युवाहरुको हुँदै होइन । यिनीहरुले गीतमार्फत भने झैं देशभित्रको बेथितिका कारण यिनीहरुको जिन्दगीको मूलबाटो मोडिएको हो ।

भाडाको सिपाही बन्न बाध्य यिनीहरु कतिले ज्यान गुमाईसके, कति घाइते भएर कहाँ कुन अवस्थामा छन् भन्ने तथ्यांक न नेपाल सरकारसंग छ नत रुसी सरकारले नै दिन्छ । छिनको छिनमा आँखै अगाडि साथी ढलेको देख्दा र आफैं घाइते हुँदा पनि स्वदेश फर्कन पाउने अवस्थामा यिनीहरु छैनन् । साथ छ त केवल यिनै नेपाली भाकाहरुको छ ।

रुसी सेनामा भर्ति भएर अहिलेसम्म मृत्यु हुने नेपाली युवाको संख्या एक दर्जन नाघिसकेको छ भने दर्जनौं घाइते भएको अनुमान गरिएको छ । हरेक हप्ता जस्तो मरेको खबर आउने क्रम जारी छ । रुसी सेनामा पुगको आफ्ना सन्तानलाई फर्काइदिन माग गर्दै सरकारसंग गुहार माग्नेहरु सयौं छन् । तर, सरकार भने सामान्य अवस्थामा जस्तो झारा टार्ने कुरा गरेर बसिरहेको छ । विश्वका मै हुँ भन्ने शक्तिशाली शासकहरुको सातो खाने गोरखाली नाम र शान यो दर्दनाक अवस्थाबाट कतिञ्जेल गुज्रने ? हाम्रो नेतृत्वले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।