२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


रिडीको संक्रान्ति मेलामा घरेलु उत्पादनको राम्रो खरिदबिक्री


585
Shares

पाल्पा । माघे संक्रान्तिका अवसरमा रिडीमा लाग्ने विशेष मेलामा स्थानीय घरेलु उत्पादनको राम्रो खरिदबिक्री भएको छ । पाल्पा, गुल्मी र स्याङ्गजा जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा लाग्ने माघे संक्रान्तिको विशेष मेलामा स्थानीय घरेलु उत्पादन र हातले बनाइएका सामानको राम्रो किनबेच भएको हो ।

डोको, डालो, सुपो, ठेकी, ओखरको घाँजी, राडीपाखीको व्यापार राम्रो भएको व्यवसायीहरु बताउँछन् । रुकुम, रोल्पा, जुम्ला, दार्चुला, बाग्लुङबाट ल्याइएका स्थानीय उत्पादनलाई उपभोक्तले मन पराएका कारण राम्रो मुल्य समेत पाएको राडीपाखी बिक्रीका लागि रुकुमबाट आउनुभएका व्यापारी वीरबहादुर पुन बताउनुहुन्छ ।

बाँसबाट निर्मित सामान र राडीपाखी बेच्ने व्यापारीले पाँच दश हजारदेखि दुई तीन लाखसम्मको सामान माघे संक्रान्तिका बेला रिडीमा बेच्न ल्याएको बताउँछन् ।

मेलामा बिक्री नभएका कतिपय सामानहरु गाउँगाउँमा गएर बेच्नु पर्ने बाध्यता रहेको जुम्लाबाट आएका व्यापारीहरुको भनाइ छ । गाउँमा खेतीपाती कम हुने हुँदा जिविकोपार्जनका लागि छ महिनासम्म परिवार नै लागेर सामान बनाउने र मेला पर्वका अवसरमा बेच्न लैजाने व्यापारीहरु बताउँछन् ।

रिडीमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पाँच दिने स्थानीय उत्पादन बिक्री गर्ने विशेष मेला लाग्ने गरेको छ ।