काठमाडौं । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानमा विभिन्न जात जाति, धर्म सम्प्रदाय, विभिन्न वर्गका सबैखाले मानिसहरुको साथ रह्यो । दक्षिणतर्फ अड्डा जमाईसकेको बेलायती साम्राज्यलाई रोक्दै एउटा विशाल देश बनाउन सबैको साथ अपरिहार्य पनि थियो । तर, गोरखा माझकोटका बिशे नगर्चीको सल्लाहले पृथ्वीनारायणको एकीकरण अभियानको सपना साकार बनाउन निकै ठूलो भूमिका खेलेको विश्वास गरिन्छ ।
बिशे नगर्ची पृथ्वीनारायण शाहको परिवारको लुगा सिलाउने दर्जी थिए । एकीकरण अभियान सुरु गर्ने सपना देखेका पृथ्वीनारायणसँग न आर्थिक शक्ति थियो नत बलिया हात हतियार । उमेरले आफ्नो पिता समानका बिशे नगर्चीको घरमै पुगेर पृथ्वीनारायणले आफ्नो समस्या सुनाउँदा बिशे नगर्चीले एक रुपैयाँ निकालेर दिँदै गोरखा राज्यका हरेक घरबाट एक एक रुपैयाँ उठाएर रकम जम्मा गर्न सुझाएको कथा छ । विशेष नगर्चीको सल्लाह अनुसारनै १२ हजार घरधुरीबाट एक एक रुपैयाँ उठाएर पृथ्वीनारायण शाहले बनारस पुगेर हतियार खरिद गरेका थिए भनिन्छ ।
यस अर्थमा पृथ्वीनारायणसँगै सम्झिनुपर्ने कैयौं पात्रहरुमा बिशे नगर्ची विशेष हुन । देश विदेशमा पृथ्वीनारायणको सम्झना भईरहँदा पृथ्वीनारायणले एकीकरणको सपना देखेको चन्द्रागिरि डाँडोमा बिशे नगर्चीका सन्ततीहरुले उनको स्मरण गरे । गोरखाको माझकोट बस्ने नगर्ची परिवारका सदस्यहरुले चन्द्रागीरी डाँडामा दमाह र सहनाइ घन्काएर बिशे नगर्चीलाई सम्झिएका हुन । गोरखाबाट आउनु भएकी बिशेका सन्तति तिल कुमारीले बिशे नगर्चीको योगदानको कदर हुन नसकेको भन्दै बिशे नगर्चीको शालिक बनाउनु पर्ने माग गर्नुभयो ।
पृथ्वीनारायणसँग पुख्र्यौली र पारिवारिक जस्तै सम्बन्ध भएका विशे नगर्चीले युद्धको समयमा सैनिकलाई आवश्यक पर्ने कपडा सिलाउने तथा युद्ध जितेपछि विजयोत्सवलाई उल्लासमय बनाउन काम पनि गर्दथे । बिशे नगर्चीसँगै चन्द्रागिरी डाँडामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण र सम्मान गर्नेहरुको पनि भीड लाग्यो ।
मकवानपुर ससुरालीबाट गोरखा फर्किने क्रममा चन्द्रागिरी डाँडाको जुन स्थानबाट पृथ्वीनारायणले उपत्यका देख्नुभयो सोही स्थानमा निर्माण गरिएको शालिकमा श्रद्धासुमन अर्पण गर्नेहरुको भीड लागेको हो । पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्न चन्द्रागिरि पुग्नुभएका इतिहासविद् ज्ञानमणि नेपालले राष्ट्र निर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताउनुभयो ।
ईतिहास जित्नेकै लेखिन्छ भनिन्छ । जितमा साथ दिने हजारौं हातहरुको पनि खोजी र सम्मान हुन सके सुनमा सुगन्ध हुने थियो ।







प्रतिक्रिया दिनुहोस्