१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


नेपालमै पहिलो पटक भएको बेसबलमा बागमती च्याम्पियन


91
Shares

काठमाडौं । राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न भएको फाइनल खेलमा बागमतीले मधेस प्रदेशमाथि ६–५ को जित निकाल्दै उपाधि पाएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो । दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा कोशीले सुदूरपश्चिम प्रदेशमाथि ५–४ को साँघुरो जित निकाल्यो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेसका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए ।

प्रतियोगिताको विजेता बागमतीले ३० हजार, उपविजेता मधेसले २० हजार र तेस्रो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ र ट्रफी पाए ।

नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो ।