१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बेसबल फाइभ च्याम्पियनसिपमा बागमती च्याम्पियन


78
Shares

काठमाडौं । बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न फाइनलमा वागमतीले मधेश प्रदेशमाथि ६-५ को जित निकाल्दै उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो । दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा कोशीले सुदूरपश्चिम प्रदेशमाथि ५-४ को साँघुरो जित निकाल्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेसका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर ) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए ।

प्रतियोगिताको विजेता बागमतीले ३० हजार, उपविजेता मधेसले २० हजार र तेस्रो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ र ट्रफी पाए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षापति र संघका अध्यक्ष दीपक न्यौपाने लगायतले पुरस्कृत गरे । नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमा सातवटा प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए ।

प्रत्येक टोलीमा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहे । सो टोलीमा दुई जना महिला खेलाडीले खेल्ने अवसर पाए । पाँच जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडीले खेलेका थिए । लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको थियो । डब्लुबिसिएसीको नियमअनुसार पाँच इनिङको खेल भएका हुन् । बेस्ट अफ फाइभ भनेको ग्लोभ्स र ब्याटको आवश्यकता नहुने खेल हो ।