Logo २ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026


नेपालमा जलवायु परिवर्तनसम्बन्धि लगानी भित्र्याउन सक्ने अवस्था छैन : मन्त्री महतो


260
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धि लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था आफ्नै मन्त्रालयमा नभएकाले सो सम्बन्धि थप बजेट ल्याउने अवस्था नभएको मन्त्री महतोको स्पष्टिकरण थियो ।

आफ्नै मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धि २८ औं सम्मेलन (कोप–२८) को समिक्षात्मक बैठकमा बोल्दै मन्त्री महतोले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्नसक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो समेत गर्नुभयो ।

मन्त्री महतोले जलवायु परिवर्तनसम्बन्धि बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरुलाई सचेत गराउनु भयो । त्यसो भएमात्रै थप बजेट माग्न सकिने मन्त्री महतोको भनाई थियो ।

मन्त्री महतोले कोप-२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सकेपनि त्यस्तो सहयोग परिचालन गर्न भने ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असर सबै पक्ष, तह र वर्गमा पुगेकाले यसको असर न्युनिकरणमा सबैले समान ढंगले चासो दिएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

त्यस अवसरमा सचिव खरालले कोप-२८ लाई सफल बनाउने काममा सशक्त र प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आधार व्यक्त गर्नुभयो ।