
काठमाडौं । अलपत्र अवस्थामा रहेको अछामको मंगलसेन दरबार निर्माण छिटो सम्पन्न गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । सशस्त्र द्वन्द्वका बेला २०५८ साल फागुन ४ गते ध्वस्त भएको मंगलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन ।
सरोकारवाला टोलीले अलपत्र रहेको दरबार निर्माणको काम चाँडै सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएको हो ।
मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मंगलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसकेको छ । दरबारको निर्माण कार्य अलपत्र छाडेर सम्बन्धित निकायले बेवास्ता गरेको सरोकारवालाले गुनासो गरेका छन् ।
त्यस समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मंगलसेन दरबारको निर्माण पुरा गर्न पटकपटक संघीय सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा ध्यानाकर्षण गराए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरूले बताएका छन् ।
सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नगरेको हो । यस विषयमा प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको विषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा गरिरहेको बताउँदै यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सम्पन्न भएको इतिहास छ । यो दरबारलाई सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा खरिद गरेको अछामका इतिहासका जानकारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्