
काठमाडौं । सन् २०२३ हामीबाट बिदा भएको छ । आज अंग्रजी नयाँ वर्ष २०२४ लाई विश्वले स्वागत गरिसकेको छ । फर्केर हेर्दा सन् २०२३ ले विश्वलाई सुखद् सम्झना छाड्न सकेन । बरु रुस–युक्रेन युद्धले थिलोथिलो भएको विश्वलाई इजरायल–हमास युद्धको अर्को घाउ थपेर २०२३ हामीबाट बिदा भएको छ ।
२०२२ को फेबु्रअरीदेखि शुरु भएको रुस–युक्रेन युद्ध समाप्त हुने कुनै उपाय फेला नपरिरहेका बेला सन् २०२३ मा विश्वले अर्को युद्ध ब्यहोर्नु प¥यो । तीन महिना अघि अर्थात अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि शुरु भएको युद्धबाट २०औं हजारको ज्यान लिइसकेको छ भने हजारौं घाइते भएका छन् । प्यालेस्टिनी भूमि गाजाबाट लाखौं मानिस विस्थापित भएर छिमेकी म्ुलुकमा शरण लिन पुगेका छन् । अहिले पनि हजारौं मानिस युद्धको घेराभित्र डर र त्रासमा बाँच्न बाध्य छन् । अर्कोतर्फ हमासले अपहरण गरेर लगेकाहरुको अवस्था पनि अज्ञात नै छ ।
उता, रुस–युक्रेन युद्ध शुरु भएको दुई बर्ष लाग्दा पनि युद्ध अन्त्य हुने संकेत देखिएको छैन । युद्धरत् दुई देशबीच मान्छे मार्ने र एकअर्काको भुमी कब्जा गर्ने होडबाजी चलिरहेको छ । रुस–युक्रेन युद्धमा परी अहिलेसम्म कतिको ज्यान गयो भन्ने यकिन तथ्यांक कसैसंग पनि छैन । युद्धले युक्रेनका अधिकांश शहरहरु खण्डहरमा परिणत भएका छन् भने लाखौं युक्रेनीहरु पनि देश छाडेर युरोपदेखि अमेरिकासम्म पुगिसकेका छन् । यी दुई देशलाई सम्झौतामा ल्याउन सक्ने बाटो अहिलेसम्म कसैले सुझाउन सकेको छैन । अमेरिकी गठबन्धनको समर्थन युक्रेनलाई जारी रहँदा चीन, इरान, उत्तरकोरियालगायतका बलियो सैन्य शक्ति भएका देशहरु रुससंग निकट बनेका छन् ।
२०२३ मा सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नु भएका जनरल परवेज मुसर्रफको निधन भयो भने पाकिस्तानमै प्रधानमन्त्री इमरान खानले सत्ताबाट बाहिरिनु मात्रै परेन उहाँलाई नयाँ सत्ता गठबन्धनले अनेक आरोपमा जेलसम्म पठायो ।
उता, क्यानाडाका पेलेस्टाइनी पृथकतावादी नेता हरदीप सिंहको सन् २०२३ को जुन १८ मा क्यानाडामै भएको हत्यामा भारतको संलग्नताको दाबीले भारत र क्यानडाबीचको सम्बन्ध चिसियो । यसै वर्ष जुन १८ मा उत्तर एटलान्टिक सागरमा पाँच जना सवार टाइटन नाम गरेको पनडुब्बी वेपत्ता भयो । १११ वर्ष पहिले समुद्रमा डुबेको टाइटानिकको भग्नावशेष हेर्न गएको पन्डुब्बी पाँच यात्रुसहित समुद्र मुनि १२ हजार फिट गहिराइमा बेपत्ता भयो ।
सन् २०२३ सेप्टेम्बर ३ मा भारतले पठाएको चन्द्रयान चन्द्रमाको दक्षिणी गोलाद्र्धमा अवतरण गर्न सफल भयो । जसले भारतलाई पनि चन्द्रमामा पुग्ने राष्ट्रको सूचिमा पुर्यायो । यस्तै भारतले नै सूर्यको अध्ययन गर्न पहिलो अन्तरिक्ष मिसन ‘आदित्य एल वान’ सफलतापुर्वक प्रक्षेपण गर्यो । राजनीतिक रुपमा वर्षको अन्त्यतिर भारतमा लोकसभा र राज्यसभाका गरी झण्डै डेढसय सांसद निलम्वनमा परे ।
यस्तै २०२३ मा अमेरिकामा गोलीकाण्ड हुने क्रम बढि नै रह्यो । हरेक महिना जस्तो भएका गोलीकाण्डमा सयौंको ज्यान जाँदा पनि बन्दुकमाथि प्रतिबन्ध लगाउने विषय बौद्धिक बहस मात्रै बन्यो ।
सन् २०२३ मा विगतका वर्षहरुमा भन्दा प्राकृतिक विपत्तिमा परी मर्नेहरुको संख्या बढ्यो । जलवायु परिवर्तनको बढ्दो असरका कारण अति वर्षा, बाढी पहिरो, समुद्री आँधी र तुफानबाट १२ हजार बढीले ज्यान गुमाए ।
अघिल्ला तीन वर्ष कोभिडको त्रासबाट गुज्रिएको विश्वले यस वर्ष त्यसबाट भने मुक्ति पायो । अर्थात कोभिडबाट ज्यान जान्छ कि भनेर त्रासमा बस्नु परेन । तर कोभिडका कारण शुरु भएको आर्थिक मन्दीको असरले भने विश्वलाई थला पारेको छ ।
सन् २०२३ मा विश्वका ठूल्ठूला प्रतिष्ठानहरुले ठूलो संख्यामा कामदार कटौती गरे भने अमेरिकादेखि नेपालसम्म मन्दीको मार परिरहेको छ । आशा गरौं, २०२४ ले यी सबै पीडामा मल्हम लगाउने छ ।
प्रतिक्रिया दिनुहोस्