३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले शुरु गरे विश्वविद्यालय सडक बहस


65
Shares

काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारको माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् ।

उनीहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विश्व विद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरुमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताउनु भयो । उहाँले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुने लगायत विद्यार्थीका आशाअनुरुपको अध्ययन नहुने समस्या रहेको बताउनु भयो ।

सुनारले विश्वविद्यालयहरु डिजिटलाइजेशन हुनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरु अझै धेरै विदेश जाने सम्भावना रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको बताउनु भयो ।

कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरुले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताएका छन् ।

यस्तै विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थीहरु एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको उनीहरुले बताएका छन् ।

यसैगरि सडक बहस कार्यक्रममा उनीहरुले विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने पनि बताएका छन् ।