
काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने मुख्यसचिव अर्यालको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्तानै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आम उपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवद्र्धन हुने बताउनुभयो ।
मुख्यसचिव अर्यालले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सरकार आफैंले उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको दोहोर्याउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जुत्ता लगायतका वस्तुहरुमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुहरुको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । अध्यक्ष अग्रवालले स्वदेशी वस्तुको उत्पादन र बिक्री वितरणका लागि सरकारले उद्योगमैत्री नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्