२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पाल्पाको तानसेनमा योमरी महोत्सव हुँदै


78
Shares

पाल्पा । पाल्पाको तानसेनमा नेवारी कला संस्कृति र खानाका परिकारको संरक्षण गर्न योमरी महोत्सव हुने भएको छ ।

योमरी पूर्णिमाको अवसरमा तानसेको टक्सारमा पुस ७ गते शनिबार योमरी महोत्सव गर्न लागिएको हो ।

नेवारी परिकार, भेषभुषा, कला संस्कृती र परम्परा हराउँदै गएकाले युवापुस्तालाई त्यस विषयमा जानकारी गराउन योमरी महोत्सव गर्न लागिएको मैत्री क्लब टक्सारले जनाएको छ ।

नेवार समुदायले नयाँ धान भित्र्याएपछि मंसिर पूर्णिमाको नयाँ धानको चामल पिसेर रोटी बनाई खाने तथा आफन्त, इष्टमित्रलाई बाँड्ने परम्परा रहेको छ । योमरी पूर्णिमाको दिन घर घरमा नाचगान गर्दै योमरी माग्ने चलन विगतमा भएपनि अहिले भने यस्तो परम्परा लोप हुँदै गएको छ ।

काठमाडौं र भक्तपुरबाट बसाईसराई गरेर पाल्पा पुगेका नेवार समुदायका चलनचल्ती, संस्कार, परम्परालाई जोगाउन योमरी महोत्सव गर्न लागिएको कार्यक्रमका प्रचार संयोजक रिलरमान महर्जनले बताउनुभयो । महोत्सवमा ३ वटा योमरीको १ सय रुपैँया, नेवारी खाजा सेटको २ सय रुपैँया दर तोकिएको छ ।

महोत्सवमा नेवारी संस्कृति झल्किने नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार र योमरीका स्टल प्रदर्शन गरिने छ ।