
काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका– वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण गरिएको हो ।
टानले नेपालका नयाँ–नयाँ पदमार्गको खोजी र संरक्षणका लागि पर्यटकीय क्षेत्रहरुका स्थानीय सरकारसँग सहकार्य गरी रक क्लाइम्बिङमार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरेको छ । ‘रक क्लाइम्बिङ सेन्टर’को शुभारम्भ विश्व कीर्तिमानी हिमालआरोही कामिरिता शेर्पाले गर्नुभयो ।
त्यस्तै,गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को पनि शुभारम्भ गरिएको छ । एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गका अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर आनन्दित हुन सकिन्छ । उक्त पदमार्ग चार रात पाँच दिनको छ । शेर्पा समुदायको संस्कृतिसँग जोडिएको उक्त पदमार्ग ‘कुधाम भ्यु प्वाइन्ट’ पुगेर राति बास बस्नका लागि गाउँपालिकाले वासस्थान निर्माण गरिदिएको छ ।
विश्वकीर्तिमानी पर्वतारोही शेर्पाले नेपालका थुप्रै डाँडाहरुमा रक क्लाइम्बिङको ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले नेपालका डाँडाहरुलाई विश्वमा बेच्नसके पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनु भयो । उहाँले विदेशीहरुलाई पर्वतीय क्षेत्रहरु मन पर्ने भएकाले सोलुखुम्बुका डाँडाहरुमा होम स्टे लगायत रक क्लाइम्बिङ सञ्चालन गर्नसकिने ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्ड विदेशी पर्यटकको पैसा असुल्न मात्रै नभएको भन्दै पर्यटकीय जिल्लाका सम्भावना बोकेका पहाडहरुमा पर्यटकीय गन्तव्य निर्माणको लागि सहयोग गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ इन्स्टिच्युट सेन्टरको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि स्थानीय, प्रदेश,संघीय सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएकोले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउन टानले सहकार्य गर्न लागेको अध्यक्ष बाँस्तोलाले बताउनु भयो ।
त्यस्तै, कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएको बताउनु भयो । उहाँले जिल्लाको पर्यटकीय विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले पर्वतारोहण संघले हिमालको रोयल्टी लिने तर सोलुुखुम्बुमा लगानी गर्ने नगरेको बताउनु भयो । साथै उहाँले सरकारले सोलुखुम्बुमा जनताले चाहेको जस्तो पर्यटकीय गन्तव्यको लागि काम गर्न नसकेको बताउनु भयो ।
त्यस्तै, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले अघिल्लो कार्यकालमा नै पदमार्ग बनाउने गुरुयोजना दोस्रो कार्यकालमा आएर पूरा भएको बताउनु भयो । उहाँले सांस्कृतिक पदमार्ग तथा रक क्लाइम्बिङले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताउनु भयो ।
अध्यक्ष राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताउँदै उहाँले गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको बताउनु भयो । उहाँले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्