काठमाडौं । उदयपुर र हेटौंडा सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समितिले हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था बारेमा अध्ययन गरी उद्योग पूर्ण क्षमतामा चलाउनसक्ने नसक्ने अवस्था बारेमा विज्ञ सहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई बुझाउन निर्देशन दिनुभयो । उहाँले दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो ।
त्यस्तै, सभापति खानले नेपालमा उत्पादन हुने चिनी र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया सुरु गरी आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानून र नीतिगत रुपमा एकरुपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रिय बजार अनुगमन समितिलाई निर्देशन दिनुभयो ।
सभापति खानले बजार अनुगमनको लागि हाल मौजुदा रहेका कानूनहरुमा संशोधन गर्न र विवरण समितिलाई उपलब्ध गराउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।
समितिले उखु किसानलाई भुक्तानी गर्न बाँकी रकम दिने सरकारको निर्णय स्वागत गरेको छ । त्यस्तै, कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानहरुले आर्थिक वर्ष २०७०/७१ को उखु उत्पादन प्रवद्र्धन खर्च रकम हालसम्म नपाएकाले कार्यदलले गरेको सिफारिसका आधारमा तत्काल भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।







प्रतिक्रिया दिनुहोस्