Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल


1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको छ ।

सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधिश ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स(एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको हो । उहाँले अदालत व्यवस्थापनको कार्यमा आर्टिफिसियल इन्टेलीजेन्स प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरु रहेको उल्लेख गर्दै दीर्घकालीन रुपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रुपमा सो प्रविधिलाई संस्थागत गर्ने स्पष्ट पार्नुभयो ।

प्रस्तावित न्यायाधिश ढकालले कोर्टरुम टेक्नोलोजीको प्रयोग गरी मुद्दा व्यवस्थापन, सुनुवाई र बहस व्यवस्थापन गर्न हालको अवस्थालाई थप सुदृढ पार्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता र वातावरणीय स्वच्छता लगायतका संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गराउने बताउनुभयो । त्यसैगरी पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको सम्बोधन एवं सामाजिक न्याय र समावेशिता जस्ता कुराहरुलाई पनि कार्यान्वयन गराउने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रस्तावित न्यायाधिश ढकालले न्याय सेवाको गुणस्तर, व्यवस्थापनको चुस्तता, सेवाग्राहीमुखी कार्यसम्पादन, सहज कार्यवातावरण जस्ता आम न्यायका उपभोक्तालाई सुविधायुक्त सेवाप्रवाह गर्ने कुरामा समर्पित रहने बताउनुभयो ।