काठमाडौं । सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो छरितो रुपमा न्याय दिन पहल गर्ने बताउनुभएको छ ।
संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरुसँग सम्बन्धित विवादलाई छिटो, छरितो रुपमा निरुपण गरी न्यायको प्रत्याभुति दिन विशेष पहल गर्ने बताउनुभएको हो । उहाँले न्यायमा विलम्बले न्यायलाई पराजित गर्ने भन्दै छिटो, छरितो न्याय सम्पादन गर्ने कुरालाई आफूले प्राथमिकतामा राख्ने बताउनुभयो ।
प्रस्तावित न्यायाधीश सुवेदीले न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता गर्नुभयो । त्यस्तै, उहाँले न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा यथाशक्य योगदान पु¥याउने पनि बताउनुभयो ।
सुवेदीले मुद्दाको व्यवस्थापन, इजलाशको समयको व्यवस्थापनमा आफ्नो सक्रिय पहल र सहभागिता रहने बताउनुभयो । त्यसैगरी, न्यायिक सुधारको कार्यमा आफ्नो प्रयासहरु जारी रहने बताउनुभयो ।
प्रस्तावित न्यायाधीश सुवेदीले विधिको शासन कायम गर्न, लोकतान्त्रिक मुल्य र मान्यताहरुमा आधारित लोक कल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्