Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नवराज बिकसहित ६ जनाका आफन्त काठमाडौंमा, न्याय पाएकोमा धन्यवाद र्‍याली


3.2k
Shares

काठमाडौं । रुकुमपश्चिमको सोती हत्या काण्ड मृतकका आफन्तले न्याय पाएकोमा काठमाडौंमा धन्यवाद र्‍याली निकालेका छन् ।

शुक्रबार मृतकका आफन्तले काठमाडौंको भृकुटीमण्डपबाट धन्यवाद र्‍याली निकालेका छन् ।

र्‍याली शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गरेर न्याय दिने न्यायालय, न्यायाधीस र घटनामा सद्धभाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौं आएको मृतकका परिवारले बताएका छन् ।

रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा हत्या भएका जाजरकोटका नवराज विकसहित ६ जना युवाका आफन्त अदालतबाट न्याय पाएपछि धन्यवाद ज्ञापन गर्न काठमाडौं आइपुगेका हुन् ।

साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको यही मंसिर १९ फैसलाले न्याय पाएको भन्दै अदालतको न्यायाधीशलाई फुलमालाले सम्मान गरेका थिए ।

जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरुले समेत धन्यवाद र्‍यालीमा सहभागिता जनाएका थिए ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो। घटनामा अरू १२ जना घाइते भएका थिए। घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो ।

त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो । आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।