
काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ ।
बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो । केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबीच सम्झौता भएको थियो ।
सम्झौतामा समिति र प्रालिबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताउनुभयो । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकेको उहाँले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक गजुरेलले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताउनुभयो । उहाँले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताउनुभयो । उहाँले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताउनुभयो ।
कार्यकारी निर्देशक गजुरेलले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताउनुभयो । यद्यपी आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताउनुभयो ।
सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले आफुहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताउनुभयो । उहाँले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो ।
उहाँले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्