Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियो : सचेतक बर्तौला


208
Shares

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताउनुभएको छ ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताउनुभएको हो ।

जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उहाँले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको विरुद्धमा प्रयोग गर्न खोजिएको बताउनुभयो । उहाँले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी बनाउन र शासकिय प्रबन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताउनुभयो । सचेतक बर्तौलाले व्यवस्था र संविधानकाविरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताउनुभयो ।

सचेतक बर्तौलाले व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उहाँको भनाई छ । उहाँले गणतन्त्रको विकल्प नभएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ठूला राजनीतिक दलहरु मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने भारतको चाहना बमोजिम नेपालमा आन्दोलनहरु भइरहेको बताउनुभयो ।

उहाँले गणतन्त्रको औचित्य नसकिएको बताउनुभयो । केही मानिसहरु कराउँदैमा गणतन्त्र समाप्त नहुने उहाँको भनाई छ । उहाँले राजदरबार हत्याकाण्डको छानविन गर्नुपर्ने पनि बताउनुभयो ।