
काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन पाटनमा शनिबार नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ ।
यस पटक गत मंसिर २ गतेबाट सुरु भएको कार्तिक नाचमा नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो ।
वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाच भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथासँग जोडिएको हुन्छ ।
यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।
हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने यो नृत्य नाटक हो ।
यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले पाँच दिनका लागि नाशल चोकमा देखाएर यसको शुरुवात गर्नुभएको थियो ।
कार्तिक नाच आजभन्दा ३ सय ८३ वर्षअघि अर्थात वि.सं. १६९७ मा सुरु भएको बताइन्छ । शुरुवाती दिनमा पाँच दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले सात दिन थपेर १२ दिन सञ्चालन गर्नुभएको स्थानीय किरण चित्रकार बताउनुहुन्छ ।
त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरिएको चित्रकारले बताउनु भयो । एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विविध कारणले गर्दा मनाउन नसकिएको उहाँको भनाइ छ ।
कार्तिक नाच शुरुमा ‘बाथः प्याखँ’ बाट शुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्