१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


राजिव श्रेष्ठ रैफ्टिङ तथा क्यानोइङ संघको निर्विरोध अध्यक्ष


208
Shares

काठमाडौं । नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न संघको पाँचौं चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

श्रेष्ठ यसअघि करिब तीन वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । रैफ्टिङ तथा क्यानोइङ संघमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ ( हाल नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटीका पूर्व सहमहासचिव समेत रहिसक्नुभएका श्रेष्ठ नेपाली खेलकुदमा हक्की एवं जुझारु खेलकर्मीको रुपमा परिचित हनुुहुन्छ ।

साधारणसभाले सूर्यप्रसाद जोशीलाई संघको वरिष्ठ उपाध्यक्ष तथा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापालाई उपाध्यक्षद्वयमा चयन गरेको छ ।

यस्तै सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाउँदा रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन हुनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई साधारणसभाका प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी ३२ प्रतिनिधिको उपस्थिति रहेको थियो ।