२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


बामपन्थी एकता अहिलेका लागि सम्भव छैन : अध्यक्ष ओली


364
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी एकताको कुरै नगर्न सुझाव दिनुभएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै अब त्यस्ता पपुलिष्ट कुरा गरेर समय बर्वाद नगर्न सुझाउनुभएको हो । उहाँले बामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा आईन्दा नगर्न नेताहरुलाई आग्रह पनि गर्नुभयो । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ, त्यसैले यो कुरा नर्गन उहाँले सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले वामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने पनि बताउनुभयो । एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र एकता गर्न सकिन्छ । दुईवटा अध्यक्ष राखेर एकता नहुने ओलीको भनाई थियो । उहाँले बामपन्थी एकता अहिले असम्भव नै भएको सुनाउनुभयो ।

ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महशुस भएको पनि बताउनुभयो । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उहाँको भनाई थियो । यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।