काठमाडौं । पछिल्लो समय नेपालमा निकै लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले अराजकता फैलाएको दाबी सरकारको छ । झट्ट हेर्दा अमेरिका तथा युरोपेली देशहरु पदचाप सरकारले पछ्याए जस्तो देखिए पनि सञ्चार प्रविधिको यो जमानामा कुनै सञ्जालमाथि प्रतिबन्ध नै लगाउनु समस्याको समाधान भने होइन ।
चिनियाँ एप टिकटक पछिल्लो समय विश्वमै सर्वाधिक लोकप्रिय सञ्जाल हो । जसका प्रयोगकर्ता ६ सय करोड रहेका छन् । सन् २०१८ देखि विश्वभर लोकप्रियता बन्दै गएको टिकटक प्रयोगकर्ता सन् २०२१ सम्ममा १ अर्ब पुगेका पुगे । नेपालमा पनि टिकटकका लाखौं प्रयोगकर्ता छन् । फेसबुक र ट्वीटरलाई धेरै पछि छाड्दै टिकटक प्रयोगकर्ताको बाढी नै लागेको छ । टिकटक यस्तो प्लेटफर्म बनेको थियो जहाँ हरेक कुराको विज्ञापन सहज हुने गर्दछ ।
गीत, संगीत, संवाद वा एक्सन समेत प्रस्तुत गर्न मिल्ने यस संजालले हजारौं लुकेका प्रतिभाहरुलाई पनि उजागर गरेको छ । यही प्लेटफर्मलाई प्रयोग गरेर आफ्ना उत्पादन र व्यापारको विज्ञापन गर्ने मात्रै होइन यही सञ्जाल प्रयोग गरेर जिविकोपार्जन गर्नेहरुको संख्या पनि उत्तिकै छ । तर, यही सञ्जालको गलत प्रयोग गर्नेहरु पनि छन् । भद्दा अंग प्रदर्शन गर्ने, ब्यक्ति विशेष, समुदाय विशेषलाई गाली गर्ने, धार्मिक सद्भावविरुद्ध विद्वेष फैलाउने मात्रै होइन राजनीतिक आक्रोश पोख्ने माध्यम पनि बनेको छ टिकटक ।
पछिल्लो समय केही राजनीतिक दलका कार्यकर्ता र नेता विशेषका विवादास्पद भिडियोहरु पनि टिकटकबाट बाहिरिनु तथा वर्तमान राजनीतिक प्रणालीविरुद्ध पनि टिकटक प्रयोग हुँदै गएको सरकारी पक्षको विश्लेषण रहेको पाइएको छ ।
टिकटक बन्द गरिएको नेपालमा मात्रै भने होइन । भारत, पाकिस्तान, अमेरिका, क्यानाडा, बेलायत, अष्टे«लिया, डेनमार्क, बेल्जियम, न्युजिल्याण्ड, नर्वे, नेदरल्याण्ड्स, फ्रान्स, ताइवान, लात्भिया, सोमालियालगायत १३ वटा मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । यद्यपी ती मुलुकमा पनि सरकारी अधिकारी तथा कर्मचारीहरुका लागि टिकटक प्रयोग प्रतिबन्ध छ, न कि आम सर्वसाधारण ।
अमेरिका, युरोप र भारतमा टिकटकमाथिको प्रतिबन्धलाई राजनीतिक दृष्टिकोणबाट पनि हेर्ने गरिएको छ । चिनियाँ एप भएकाले यसको आम्दानी चीन पुग्ने हुँदा ती मुलुकहरुले गोपनीयताको तर्क अघि सारेर टिकटक बन्द गरेका हुन भनिन्छ ।
नेपालले पनि तिनै देशहरुको सिको गरेको हो भनेर ठोकुवा गरिहाल्ने अवस्था भने छैन । तर, सञ्चार र प्रविधिको यो जमानामा कुनै पनि सामाजिक सञ्जालको एपमाथि प्रतिबन्ध लगाउनु समस्याको समाधान भने होइन । राज्यले टिकटक मात्रै होइन अन्य सामाजिक सञ्जालहरुको पनि दुरुपयोग नहोस भनेर दीर्घकालिन नीति अवलम्बन गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्