Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला हुने


338
Shares

काठमाडौं । प्रत्येक वर्ष भाइटिकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि खुल्ने भएको छ ।

भाइटिकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मन्दिर वर्षमा एक दिन भाइटिकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

‘सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ’, पाण्डेले भन्नुभयो । भाइटिकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानी पोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ मा पुनः निर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।