काठमाडौं । भूकम्पमा घाइते भएर नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका जाजरकोटका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।
भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीको मात्र भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो ।
अस्पताल ल्याइएका ५८ जनामध्ये ४८ जना बिरामी उपचारपछि निको भएर घर फकिएका हुन् । तीन जनालाई काठमाडौं रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न संघ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्