काठमाडौं, भदौ २६ । सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री विष्टले सरकारले चालू आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सुरुआत गरेको पनि स्मरण गराए ।
मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
श्रमिकहरुको पेन्सनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने उनको भनाइ थियो ।
यसैबीच, कस्तो व्यक्तिलाई बेरोजगार भत्ता दिने भन्ने विषयमा भने सांसदहरुबीच राय बाझिएको छ ।
मंगलबार रोजगारको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सदस्यहरुबीच एकमत हुन नसकेको हो ।
कुनै परिवारमा एकजनामात्र सदस्यको रोजगारी छ र अरुको छैन भने त्यस्ता परिवारलाई बेरोजगार भत्ता दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो ।
केही सदस्यहरुले यदि कुनै परिवारमा कसैको पनि रोजगारी छैन तर सम्पन्न छ भने त्यस्तो परिवारको व्यक्तिलाई बेरोजगार भत्ता दिन नहुने बताएका थिए ।
विपन्न परिवारका लागिमात्र लक्षित गर्दै भत्ताको व्यवस्था हुनुपर्नेमा भने अधिकांश सदस्यहरु सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्