२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु


1.716k
Shares

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको हो ।

भूकम्पबाट जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा ३–३ तथा रोल्पामा एक गरी १९७ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज तथा सुर्खेतमा उपचार भइरहेको छ ।

भूकम्पबाट गम्भीर घाइते भएका रुकुमका सातजनालाई नेपाल वायुसेवा निगमको ट्विनटर जहाजमार्फ काठमाडौँस्थित त्रिवि शिषण अस्पताल महाराजगन्जमा ल्याइएको छ । अहिले पनि तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरुको उद्धार लगायतका काम भइरहेको छ ।

यता, सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचारका निम्ति चिकित्सक प्रभावित क्षेत्रमा पुगिसेकेको, स्वास्थ्य सामग्रीका साथै औषधि प्रभावित क्षेत्रमा पुगिसकेको उहाँको भनाइ छ । उहाँले थप सामग्री आवश्यक परेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्कालै व्यवस्था गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मृतकको शव व्यवस्थापनका लागि विशेष टोली खटिइएको जानकारी दिँदै उहाँले सो टोलीले मुचुल्कासहित आवश्यक सदगतको व्यवस्था गर्ने बताउनुभयो । उद्धारका लागि सबै सुरक्षा निकाय खटिइएको, थप सुरक्षा बल त्यसतर्फ पठाइने उहाँले जानकारी दिनुभयो ।