
कपिलवस्तु । कपिलवस्तुमा ग्याँस व्यवसायीले मनपरी मूल्य राखेर ठग्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य बजारलगायतका क्षेत्रमा ग्याँस व्यवसायीले मनोमानी ढंगले मूल्य वृद्धि गरेको र तौलमा पनि कमी भएको उपभोक्ताको दाबी छ ।
१८ सय ९५ रुपैयाँ मूल्यको ग्याँसलाई १९ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएको छ । ग्याँस व्यवसायीले ५५ रुपियाँ वृद्धि गरि उपभोक्तालाई ठग्ने गरेको उनीहरुले बताएका छन् ।
सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्याँस खरिद गर्न पर्दा आफूहरू मर्कामा परेको स्थानीय प्रकाश थारुले बताउनुभयो ।
आम उपभोक्तालाई आयल निगमले संयोजन गरेको मूल्य थाहा नहुँदा व्यवसायीले ठग्ने गरेको उहाँको भनाइ छ ।
शिवराजका ग्याँस व्यवसायीले नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्याँस बिक्री गरिरहेको जनगुनासो आएको भन्दै बढी मूल्यमा ग्याँस नबेच्न नगरपालिकाले आग्रह गरेको छ ।
तोकेको मूल्यभन्दा बढी मुल्यमा ग्याँस बिक्री गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
नगर प्रमुख अजय थापाले नगरपालिकाभित्र ग्याँसको मूल्यमा मनमानी ढंगले बिक्री वितरण र ग्याँसको तौलमा कमी भएको नगरबासीको गुनासोलाई मध्यनजर गर्दै सूचना जारी गरेर ग्याँस उपभोक्तालाई सचेत गराएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्